नवराज विकसहित ६ जनाको हत्या प्रकरणका २३ जनालाई जन्मकैद सजाय

१९ मंसिर ०८०, काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्या प्रकरणका २३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराजसहित क्रुरतापूर्वक ६ जनाको हत्या घटनाका दोषी तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगरलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेसँगै किशोरीका आफन्त र गाउँलेले नवराज विकसहित ६ जनालाई लखेटीलखेटीे हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।