नवरात्रको आठौं दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

१४ असोज ०८२, काठमाडौं । हिन्दुहरूको महान् पर्व वडा दशैं अर्थात् नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गरिएको हो ।

हिन्दु धार्मिक मान्यताअनुसार नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।