१७ कार्तिक ०८२, काठमाडौं । तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी) समूहका तेन्जिन दावा लामाको नागरिकतामा उल्लेखित बुबाको पहिचान गरी परिसरमा उपस्थित गराए पनि उनीहरू दुबैले एकअर्कालाई नचिनेको प्रहरीले जानकारी दिएको छ ।
तेन्जिनको नागरिकतामा उल्लेख भएका बुबा काठमाडौं महानगरपालिका–६ बौद्धमा बस्दै आएका कृष्णबहादुरलाई पहिचान गरी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउँदा उनीहरू दुवैले एकअर्कालाई नचिनेका हुन् ।
प्रहरीकाअनुसार आफ्नो बुबा दाबी गरेको कृष्णबहादुरलाई तेन्जिनले चिनेनन् भने आफ्नो छोरा भन्दै नागरिकता बनाइदिएका व्यक्ति कृष्णबहादुरले पनि तेन्जिनलाई चिनेनन् ।
त्यसपछि तेन्जिनको नागरिकता झनै शंकाको घेरामा परेको छ । नक्कली बाबु खडा गरेर प्रशासनबाट नागरिकता बनाइएको आशंका प्रहरीले गरेको छ ।
बाबु नाम उल्लेख गरिएका कृष्णबहादुरले भने नागरिकता बनाइदिएको बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरेका छन् ।
नागरिकता शंकास्पद देखिएपछि प्रहरीले उनीविरुद्ध अहिले किर्तेको कसुरमा अनुसन्धान अघि बढाएको छ । ‘केही सरकारी कागजातहरू किर्ते गरेको देखिएपछि किर्तेको कसुरमा अनुसन्धान अघि बढाइएइको हो,’ परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने ।
काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्नो विवरणअनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।
तर, यी विवरणहरू महानरपालिकाको रेकर्डमा दाँज्दा भेटिएनन् । काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार वडाको ढड्डामा तेन्जिनले पेस गरेका विवरणहरू भेटिएनन् ।
असोज २६ मा पक्राउ परेका तेन्जिनविरुद्ध सुरुमा प्रहरीले अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो ।
जेन्जी आन्दोलनमा तेन्जिनले टीओबी लेखिएको कालो कपडा लगाएर समूह लिडर भई बुलेट बाइक पड्काउँदै आन्दोलनकारीलाई उक्साएको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको देखिन्छ ।
प्रहरीले तेन्जिनलाई पक्राउ गर्दा उनीबाट रेडियो सेट (वाकिटकी) पनि बरामद गरेको थियो । लाइसेन्स नलिई यस्तो सञ्चार सेट प्रयोग गर्न मिल्दैन । तर प्रहरी अनुसन्धानका क्रममा यो रेडियो सेटका लागि तेन्जिन समूहले लाइसेन्स नलिएको पाइएको छ ।
प्रवक्ता भट्टराई पनि तेन्जिनले रेडियो सेटको लाइसेन्स अहिलेसम्म देखाउन नसकेको बताउँछन् ।
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हरेक वर्ष यसको नवीकरण गर्नुपर्ने हुन्छ ।













