निजामती विधेयक सदनमा जाँदा कहीँ न कहीँ चलखेल भएको देखिन्छ – प्रचण्ड

१७ असार ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा भएको चलखेलमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले समितिबाट संसदमा जाने क्रममा चलखेल भएको भन्दै गम्भीर छानबिन गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कसैलाई इंकित गरेर आरोप लगाउन सक्ने स्थिति नरहेको भन्दै समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन गरेर कडा कारबाही गर्नुपर्ने बताए ।

‘विधेयक सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ चलखेल भएको देखिन्छ,’ प्रचण्डले भने, ‘त्यसको बारेमा गम्भीर रुपमा छानबिन गरेर दोषीउपर कारबाही गर्नुपर्ने अवस्था छ ।’

उनले कर्मचारीतन्त्र भित्रैबाट यो विधेयक ल्याउन नदिन एउटा तप्का सुरूदेखि लागिरहेको पनि दाबी गरे ।