२८ बैशाख ०८२, काठमाडौं । गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई राखिएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला सरकारले सिफारिस समिति गठन गरेकाले सो समितिमा उनलाई राखिनु गैरकानुनी रहेको दावी गर्दै अधिवक्ता नवीन घितालले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
अधिकारी गैरकानुनीरुपमा नियुक्त सदस्य रहेको समितिले गरेको सिफारिस कार्यान्वयन नगर्न, सिफारिसअनुसार सरकारले निर्णय गरेको भए सो निर्णय बदर गर्न र तत्काल अन्तरिम आदेशमार्फत समितिलाई सिफारिस गर्न रोक लगाउन अधिवक्ता धितालले माग गरेका छन् ।
आइतबार रिट दर्ता गर्दै सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ ।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले ११ चैतमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । एक महिनासम्म पनि समितिको बैठक नबसेपछि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।













