नेकपाको सचिवालय बैठक भोलि बुधबार १ बजे बस्ने गरी स्थगित

१६ मंसिर ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक भोलि बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको थियो ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डमाथि खनिए पछि अन्य महासचिव बाहेकका सचिवालय सदस्यहरुले ओलीको आलोचना गरेका थिए ।

स्रोत भन्छ, “बैठक शुरु भएपछि अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि ? भनेर प्रश्न गरेका थिए भने अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।

तर, यस सवालमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएकाले पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए । साथै उनले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्नेमा जोड दिएका थिए ।

त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओली उत्तेजित बनाउने गरी बोल पनि आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको बताएका थिए । यसैबीच ओलीले तत्काल प्रतिवाद गर्दै जे मन लाग्यो त्यही बोल्ने ? भन्दै कार्यकारी अध्यक्षमाथि पड्किएका थिए ।

यसपछि ओलीसँगसँगै प्रचण्ड पनि कड्किए । ब्रिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने ?’ भन्दै ओलीको प्रतिवाद गरे ।

स्रोतकाअनसार ईश्वर पोखरेलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । यस विषयमा महासचिव विष्णु पौडेलले भने यसबारे केही नभन्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुको धारणा सुनिसकेपछि बुधबार १ बजे सचिवालय बैठक बस्ने जानकारी दिएका थिए । तर, अर्का अध्यक्ष ओली ‘यस्तो बैठक केका लागि ?’ भन्दै उठेको एक सचिवालय सदस्यले जानकारी दिए ।