नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन सुरू

२७ मंसिर ०८२, भक्तपुर । जिल्लाको सल्लाघारीस्थित खुला मैदानमा नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।

विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकीसहित सल्लाघारी पुगेको जनसभाबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेसँगै एघारौं राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सुरू भएको हो ।

अध्यक्ष ओलीको सम्बोधन सुन्दा यो महाधिवेशन एमाले जीवनको यो नियमित प्रक्रिया मात्र नभएर विशेष सन्देश दिन पनि महाधिवेशन गरिएको हो ।

जेनजी आन्दोलन दमनको आरोप लागेको सरकारको नेतृत्व गरेको एमाले र तत्कालीन प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओलीले आजको जनप्रदर्शनलाई एमाले फेरि उठेको सन्देशका रुपमा बुझ्नुपर्ने बताएका छन् ।

‘सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू, जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो,’ ओलीले भने, ‘जति बेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो । र, एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।’

‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिदै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,’ अध्यक्ष ओलीले घोषणा गरेका छन् । ओलीकै जस्तो दाबी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि गरेका छन् ।

एघारौं राष्ट्रिय महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र जत्तिकै महत्व राष्ट्रिय राजनीतिका निम्ति हुने पोखरेलको भनाई छ ।