नेकपा औपचारिक विभाजनको दिशामा : बालुवाटार र बबरमहलमा केन्द्रीय समिति बैठक बस्दै

७ पुस ०७७, काठमाडौं । दुई वर्ष सात महिना अघि (२०७५ साल जेठ ३ गते) पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आजदेखि औपचारिक विभाजनको दिशामा गएको छ ।

नेकपाको आन्तरिक विवाद उत्कर्षतर्फ जाँदै गर्दा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुस ५ गते संसद विघटन गरेर २०७८ बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै नेकपा औपचारिक विभाजनको दिशामा गएको हो ।

नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीले चालेका पछिल्ला कदम पार्टी, संविधान र राष्ट्रहित विपरीत रहेको भन्दै अनुशासनको कारवाही गर्ने निर्णय गरिसकेको छ भने आज बस्ने केन्द्रीय समिति बैठकले उक्त कारवाही अनुमोदन गर्ने बताइएको छ ।

नेकपाको आकस्मिक तर औपचारिक केन्द्रीय समितिको बैठक आज अपरान्ह १ बजे बस्दैछ भने सोको काउन्टरमा प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक आजै बिहान ९ बजे बोलाएका छन् ।

नेकपाका एक स्थायी समिति सदस्यले आजदेखि नेकपा औपचारिकरुपमा फुटको दिशामा गएको देखिए पनि नेकपा नफुट्ने बताए ।

“पार्टी विधानविपरीत, संविधानको मर्म विपरीत असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, निरंकुश, स्वेच्छाचारी, पश्चगामी कदम चालेका प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीलाई केन्द्रीय समितिले अनुशासनको कारवाहीसहित पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउने छ”, उनले थपे, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्दैन, एक रहन्छ ।”

तत्कालीन पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपालको ठूला दुई कम्युनिष्ट पार्टी एकता भएको ऐतिहासिक घोषणासँगै विश्वका कम्युनिष्ट पार्टी र आन्दोलनलाई नयाँ सन्देश प्रवाह भएको थियो । तर आज ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्डले बबरमहलमा नेकपाको औपचारिकरुपमै अलग–अलग केन्द्रीय समिति बैठक बोलाएपछि पार्टी स्पष्टरुपमै विभाजनतिर गएको छ ।

यद्यपि, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पक्षीय संघीय सांसदहरुको सोमबार आयोजित एक भेलामा सम्बोधन गर्दै पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरू विरुद्ध एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । उनले एकाध व्यक्तिका पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने पनि बताएका छन् ।

प्रचण्ड समूहको संघीय सांसदहरुको भेलाले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई अस्वीकार गर्दै नेकपा संसदीय दलको बैठक बुधबार बस्ने साथै प्रतिनिधि सभाको नियमित काम अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

गत २०७४ असोज १७ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा भएको थियो ।