१७ असार ०८२, काठमाडौं । अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्सका लागि नेपालबाट ३० खेल दर्ता गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो ।
एसियन गेम्सका लागि हिजो जुन ३० सम्म खेल नाम दर्ता गर्ने मिति समयसीमा थियो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ३० खेलको सूचीमा तेक्वान्दो र फुटबल समावेश नभएको बताए ।
उनले भने, ‘सम्बन्धित संघले खेल दर्ताका लागि नाम पठाएको खेलको नाम दर्ता गरिएको छ, नाम नआएको खेल दर्ता भएको छैन् ।’
दर्ता गरिएका खेलहरूमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एण्ड डान्स स्पोट्र्स, बेसबल तथा साफ्टबल, र्याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोट्र्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु रहेका छन् ।













