नेपाली कम्युनिष्ट पार्टीले पायो प्रमाणपत्र, राजनीतिक दल दर्ता नम्बर २०७

२९ कार्तिक ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट आधिकारीक रुपमा राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।

आयोगले नेपाली कम्युनिष्ट पार्टीलाई प्रदान गरेको प्रमाणपत्रमा राजनीतिक दल दर्ता नम्बर २०७ उल्लेख रहेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम देहायका राजनीतिक दलहरु आपसमा एकीकरण भई नेपाली कम्युनिष्ट पार्टी नामक राजनीतिक दल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट मिति २०८२ कार्तिक २८ मा निर्णय भई दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ ।

यही कार्तिक २६ गते १० वटा कम्युनिष्ट पार्टी बीच एकता भएपछि निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका “नेपाली कम्युनिष्ट पार्टी” आवद्ध ५ वटा राजनीतिक दलको एकीकरण हुनुपूर्वको नाम र दर्ता नम्बर समेत प्रमाण पत्रमा उल्लेख गरेको छ ।

आयोगका सचिव माहादेव पन्थ हस्ताक्षर गरेको उक्त प्रमाणपत्रमा एकीकरण हुने राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), दल दर्ता नं. ३७, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ता नं. १६६, जनसमाजवादी पार्टी, नेपाल दल दर्ता नं. १००, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दल दर्ता नं. १७०, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी दल दर्ता नं. १८५ उल्लेख छ ।

यस्तै राजनीतिक दलको पूरा नाम “नेपाली कम्युनिष्ट पार्टी” साथै दलको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा रहने उल्लेख गरिएको छ ।