६ चैत ०८१, काठमाडौं । नेपाली सेनाले विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् नेपाली सेनालाई जोडेर भएका विभिन्न प्रकारका टिका टिप्पणीको खण्डन गरेको छ ।
सेनाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको जनाएको हो ।
“विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।”
नेपाली सेना विज्ञप्तिमा सेना सम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न समेत अनुरोध गरिएको छ ।














