२५ जेठ ०८२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ रहेका छन् ।
यस्तै विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि रहेको छ ।
अख्तियारले उनीहरू विरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरेको छ ।
नेपाल टेलिकमबाट प्रतिस्पर्धाबिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो ।
२०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति थियो ।













