काठमाडौं । नेपाल फिल्म सोसाइटीले प्रदेश सांसद निर्बाचित मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा सोसाइटीले धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित सरोज थापा (रोज राणा) लाई बधाई तथा शुभकामना ब्यक्त गरेको हो ।
उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिबर्तन नेपालका अध्यक्ष मोहन निरौला, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसी लगायत नेपाल फिल्म सोसाइटीका सदस्यहरु, कलाकारहरु र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद नायक निर्माता माननीय मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए ।
‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे । ‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’
त्यस्तै अर्का चलचित्रकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् ।
‘म प्रदेश सांसद हो । हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’ सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले चलचित्र क्षेत्रको समस्याको बिषयमा सदनमा कुरा उठाउनु पर्ने धारणा राखेका थिए ।













