२३ असोज ०८२, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति घोर भत्र्सना व्यक्त गरेको छ ।
शाखाले बुधबार विज्ञप्ति जारी गरेर काठमाडौंका मेयर बालेन्द्र शाहसम्बन्धी समाचार प्रसारण भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको भन्दै यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ “यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।”
शाखाले सुरक्षा निकायलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न र पत्रकारमाथि हुने धम्की तथा आक्रमणप्रति शून्य सहनशीलता अपनाउन सरकारसँग जोडदार माग गरेको छ ।














