पत्रकार महासंघ ललितपुरले स्थापना ग¥यो – ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’

२४ जेठ ०८२, ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता’ पुरस्कारको घोषणा गरेको छ ।

शनिबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच पाँच लाख रुपैयाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गरेका हुन् ।

अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

अक्षयकोषको घोषणा एवं हस्तान्तरण गर्दै समाजसेवी महर्जन परिवारले आम जनतालाई सूसुचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहन निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् ।

त्यस्तै अक्षयकोष घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारले उल्लेखनीय काम गरेको भन्दै उच्च प्रशंसा गरेका छन् । बस्नेतले भने, ‘यस पुरस्कारले पत्रकारहरुलाई निष्पक्ष र निर्भिक ढङ्गबाट कलम चलाउन प्रोत्साहन मिल्ने छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखामा यस्ता किसिमका सकरात्मक पहल हुदाँ गौरव गरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा बढी क्रियाशील रही पत्रकारको हकहितमा काम गर्न सफल भएको बताएका छन् ।

त्यस्तै शाखाका अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशील दुई जना पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने जानकारी दिए । उनले भने, ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलामा कलम चलाउने क्रियाशील पत्रकारलाई अक्षयकोषमा प्राप्त भएको रकमको ब्याजबाट पुरस्कार प्रदान गरिनेछ ।’

रकम हस्तान्तरणसँगै अक्षयकोष कार्यान्वयनमा आएको शाखा सचिव दीपक अर्यालले बताए ।

कार्यक्रममा स्वर्गिय हीराकुमारी महर्जनकी छोराहरु प्रेम सिंह महर्जन र सरोज डंगोलको पनि उपस्थिति रहेको थियो ।