३१ जेठ ०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक भारतीय मिडियामा नेपाललाई हेर्ने औपनिवेशिक मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार भारतीय मिडिया आजतकले नेपाल-भारत सीमा विवादमा नेपाललाई उक्साउनमा चीनको हात छ भनेर सोधिएको एक प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
“दक्षिण एसियामा नेपाल मात्रै एक यस्तो राष्ट्र हो, जो कहिल्यै कसैको उपनिवेशमा रहेको छैन्,” मन्त्री ज्ञवालीले भनेका छन्, “नेपाललाई हेर्ने चस्मा र लेन्स बदल्नु, के नेपाल आफैँ कुनै निर्णय लिन सक्दैन ? औपनिवेशिक मानसिकता परिवर्तन गर्नु जरुरी छ ।”
नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको बताउँदै उनले कालीनदी पूर्वको सबै भूभाग नेपालको भएकाले नक्सा परिवर्तन नहुने प्रष्ट पारेका छन् ।
नेपाल–भारत सीमा विवादका सवालमा नेपालले नयाँदिल्लीसँग धेरै पटक कुरा गर्ने प्रयास गरेको, समस्या समाधान गर्न नेपालले कूटनीतिक नोट समेत पठाएको तर भारतीय पक्षबाट कुनै प्रतिक्रिया नआएको भन्दै मन्त्री ज्ञवालीले स्वतन्त्र सार्वभौम मुलुकले गरेको राष्ट्रहितको निर्णयको सम्मान गर्नुपर्ने बताएका छन् ।
अन्तर्वार्ता हेर्नका लागि भिडियो लिंक यहाँ छ ।













