काठमाडौँ । गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय छन् । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताएका उनी साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ ।
उनको अनुभवमा पर्यटन क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने हो त्यो हुन नसक्दा नेपालको पर्यटन सम्भावना भएर पनि शिथिल भइरहेको छ ।

पर्यटन व्यवसायी, सागर पाण्डे
त्यसैले उनले यसपटक टानको नेतृत्व गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने सोच अघि सारेका छन् । निरन्तरताका लागि पद ओगट्ने नभई साँच्चै केही गरेर देखाउने अठोटका साथ पाण्डे टानको नेतृत्वमा होमिएका छन् ।
देश विदेशको पर्यटन क्षेत्रको ज्ञान हासिल गरेका उनले परिवर्तित समयअनुसार पर्यटक क्षेत्रलाई अघि बढाउनका लागि राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याएका छन् ।
पाण्डेको पर्यटन यात्रा
गोरखाको भीमसेन गाउँपालिका ६ अस्राङका पाण्डे परिवारको कान्छो सदस्य हुन सागर पाण्डे । महान्यायाधिवक्ताको कार्यालमया खरदार भएकाले बुबा काठमाडौँमा रहेका बेला उनको जन्म काठमाडौँमै भयो । उनका ३ दिदी छन् । वि.सं २०३३ सालतिर छुट्टाभिन्न भएपछि आमा गोरखा फर्कनुपर्ने भयो । काखे बालखा उनी आमासँगै गृहजिल्ला गए । उनले गाउँकै स्कुलमा ७ कक्षासम्म अस्राङको चण्डी निमाविमा पढे ।
त्यतिबेला बोर्लांडमा प्रस्तावित मावि बनेको थियो तर उनी गोरखा सदरमुकाम पोखरीथोकमा रहेको शक्ति माध्यामिक विद्यालयमा ८ कक्षा भर्ना भए । डेरा लिएर ३ वर्ष त्यहाँ पढेपछि २०४४ सालमा पहिलो डिभिजनमा एसएलसी पास गरेर अमृत साइन्स कलेज काठमाडौँमा २०४५ सालमा भर्ना भए ।
त्यही बेला आमा विरामी हुँदाहुँदै पनि आइएससी सके । फिजिक्स पढेकाले इन्जिनियरतर्फ जाने चाहना भएकाले जुओलोजी भर्ना हुन त्रिचन्द्र गएर २०४९ सालमा विएससी सकाए । त्यसपछि कि भारत की अमेरिका जानुपर्ने अवस्था आयो । त्यो बेला नेपालमा त्यो एड्भान्स कोर्स आइसकेको थिएन ।
त्यही कारण सागर पाण्डे पर्यटक क्षेत्रसँग जोडिनु पुग्यो । अनुभव नहुँदानहुँदै जोडिँदा उनीसँग दुई कुराको ज्ञान भने थियो । पाण्डे भन्छन्, “एउटा पठाई साइन्स परेको र अर्को ट्रेकिङ रुटको बारेमा भौगोलिक अवस्था बारे पढाइकै सिलसिलामा जानकारी लिएकाले समस्या भएन । कहाँ कति हाइट, कहाँ डाँडा, कहाँ खोला छ? भन्ने कुरा मलाई सजिलै थाहा भयो ।”
शुरुमा काम गर्दागर्दै पर्यटन व्यवसायीकै रुपमा प्रवेश गरे । पाटनरसीपमा ३ वर्ष काम गरेपछि साथीहरुसँग स्वभाव मिलेन । संस्थागत विकास भए दीगो हुन्छ भन्ने चाहना उनको थियो । त्यसपछि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङ भनेर शुरु गरे । व्यापार सम्बन्ध बनाउँदै अघि बढ्दा २००३ मा होटल इन्काउन्टर खोले ।
कोभिडपछि पर्यटन क्षेत्रमा लगानी ठिक होइन भन्नेमा व्यवसायीहरु रहेको बताउँदै पाण्डे भन्छन्, “मलाई अवसरहरु क्राइसिसमै हुन्छ, हामीले देख्ने या नदेख्ने भन्ने चाहिँ ठुलो हो, सोचाई फरक हुनसक्छ, तर हामीले केही गर्न सकिन्छ भन्ने सोचपछि ठमेलमा पुरानो बिजनेश थियो । म्यानेजमेन्ट हुन सकेको थिएन मैले टेकअप गरेर काठमाडौँ ग्रिल रेष्टुरेन्ट एण्ड वाइन बार भनेर फष्ट क्लासको रेष्टुरेन्ट शुरु गरेको हुँ ।”
३० वर्ष पर्यटन क्षेत्रमा बिताएका सागर पाण्डेले टानको नेतृत्वमा किन दाबी गर्दैछन् ?
अहिले चनुावको कुरा हेर्दा ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो टान । १५ सय जति सक्रिय सदस्यहरु नै भएको संस्था हो । यी संस्थाहरुको हकहितका लागि सबै व्यवसायीको साझा आवश्यकता र समस्यालाई कसरी आफ्नो तर्फबाट र राज्यसँग जोडिएका प्रश्नको समाधान गर्न सकिन्छ भन्नका लागि संस्था खुलेको हो ।
पाण्डेका अनुसार समय जसरी परिवर्तन भएको छ, व्यापारको मोडालिटी, उपभोक्ताको बानी बेहोरा रुचि, ट्राभल गर्ने तरिकाहरु परिवर्तन भएको छ । नेपालमा नीतिहरु समय सापेक्ष परिवर्तन नहुँदा समअनुकुल प्रतिफल दिने अवस्था छैन् ।
पाण्डे विगतमा सन् २०१३–१५ को महासचिव भएर काम गरे भने सन् २०१५ मा पनि अध्यक्षको प्रतिष्पर्धी थिए ।
पछिल्लो सममयमा उद्योगको एक हिसाबले गार्जेनसिपमा आइसकेको हुनाले आफूले प्राप्त गरेको ज्ञान सिप र अनुभवका कारण नेतृत्वमा जाउँ भन्ने सोच पलाएको उनले बताएका छन् ।
पाण्डे भन्छन्, “मेरो व्यक्तिगत रुपमा टानका पुर्वअध्यक्षहरुले केही पनि गर्नुभएन भन्ने होइन । तर पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जवरजस्त उठेको छ ।”
उनले आम नागरिकले पनि बुझेको अवस्था छ पछिल्लो समयमा नेपाली पनि पर्यटकका रुपमा बाहिर धेरै जाने गरेका छन् । त्यसकारण समय सापेक्ष जुनरुपमा प्रतिफल दिलाउन पनि अध्यक्ष पदमा दावी रहेको बताए । साथै, उनले पर्यटन क्षेत्रमा लागेका सबै संघसंस्थालाई एक ठाउँमा ल्याउने र त्यसको नेतृत्व टानले गर्ने अनि समस्या सधानका लागि राज्यलाई झक्झक्याएर पूरा गर्न राज्यलाई बाध्य पार्ने बताए ।
पाण्डेले यो चुनावमा समग्र पर्यटन विकास र व्यवसायमा जोडिएका समस्या समाधान गर्न ढिला गर्न नहुने बताए ।
पाण्डेले पर्यटन विकासको आधारभूत विषय भएको बताउँदै राष्ट्रिय एयरलाइन्सलाई सुधार गर्नैपर्ने औंल्याएका छन् ।













