१८ भदौ ०८२, गुल्मी । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक गुल्मीमा मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरेको छ ।
संसथाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङ गरेको हो । ब्राण्डिङ सँगसँगै संसथाले बजारीकरण समेत सुरु गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीले आटोको ब्राण्डिङ गर्न सहयोग गरेको छ ।
साविकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म करिब ९० लाख खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताएका छन् ।
साना किसान सहकारीले स्थानीय किसानहरूको मकै प्रतिपाथी २०० रुपैयाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर शनिवारदेखि औपचारिक रूपमा बजारमा पठाइएको छ । अहिले मकैको आटोलाई प्रतिकिलो १ सय ३० रुपैयाँ पर्ने प्याकेट बजारमा ल्याएको छ ।













