पार्टी एकतालाई फुटाउने-टुटाउने प्रवृत्तिहरु परास्त गर्नु पर्दछ – प्रचण्ड

१७ साउन ०७७, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन फुटाउने टुटाउने प्रवृत्तिहरु परास्त गर्नुपर्ने बताएका छन् ।

शनिबार तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपाको पछिल्लो बैठक, बहस र छलफलका बारेमा स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘पार्टी एकतालाई यो बहसले अझ माथिल्लोस्तरमा लगेर सुदृढ गर्नु पर्दछ । गर्नेछ, गर्नका लागि सबैले मेहनत गर्नु पर्दछ । पार्टीलाई फुटाउने टुटाउने सबै खालका प्रवृत्तिहरु पार्टी परास्त हुनु पर्दछ, परास्त गरिनुपर्दछ,’ अध्यक्ष प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरुले कम्युनिष्टहरु पदको लागि छिनाझप्टी गरेको भन्ने प्रचारवाजीको भ्रममा नपर्न अपील गर्न चाहन्छु ।’

आम कार्यकर्ता र जनचाहना नेकपा विभाजन नहोस् भन्ने रहेको भन्दै उनले जनताको चाहनालाई कदर गर्न एकतालाई माथिल्लोस्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आम जनता, कार्यकर्ताको चाहना पार्टी विभाजन नहोस् भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रोसँग बुझेका छौं । तर, यो एकता अक्षुण राख्ने नाममा विभिन्न विचार प्रवृत्ति र इश्युहरुको बहस चाहिँ छोपछाप हुनु हुँदैन । फछ्र्यौट ठिक ढंगले हुनुपर्दछ भन्ने कुरामा हामी सचेत छौं ।’

‘यो पदको छिनाझप्टी बिल्कुलै होइन । यो हामीले पार्टीलाई कसरी अगाडि बढाउने हाम्रा विचारहरु, हाम्रा मान्यताहरु, हाम्रा विधिहरु, हाम्रा पद्दतिहरु कस्तो हुन आवश्यक छ ? भन्ने विषयमा आधारित बहस हो यो । पद होइन ? राष्ट्रको सेवा, जनताको सेवा मुख्य कुरा हो,’ पछिल्लो स्थायी समितिको बैठकसँगै चुलिएको नेकपाको बहसतर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले भने ।

‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुन नदिने कसरतहरुसँग लडेर आएको’ भन्दै अध्यक्ष प्रचण्डले अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ति आफ्नोतर्फबाट त्याग गर्दै आएको पनि बताए ।

उनले कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्ने पार्टी भएकाले विचारलाई, पार्टीलाई कसरी स्पष्ट गर्ने ? इस्यूहरुमा कसरी जाने ? विधि र पद्दतिको पालना कसरी गराउने भन्ने विषयहरुमा नै केन्द्रीत भएर छलफल चलिरहेको पनि बताए ।