बन्दाबन्दी कोभिड–१९ को स्थायी समाधान नभएकाले बानी र व्यवहारमै परिवर्तन गरौं
७ भदौ ०७७, काठमाडौं । सन् २०१९ को डिसेम्बरदेखि विश्वलाई नयाँ खोज, अनुसन्धान गर्न र आफूलाई परास्त गर्न चुनौती दिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण संसारभर लाखौंको ज्यान गइसकेको छ भने नेपालमा पनि यही भदौ ६ गते शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणअनुसार १४६ जनाको मृत्यु भइसकेको छ ।
अहिले पनि विश्वका आफूलाई महाशक्ति राष्ट्र ठान्नेहरुदेखि अल्पविकसित र विकासोन्मुख देशका अनुसन्धानकर्ताहरु समेत कोभिड–१९ को संक्रमण, रोकथाम र नियन्त्रणका लागि विशेष औषधिको खोजी र परीक्षणमा निरन्तर लागि रहेका छन् ।

कोभिड–१९ को सवालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक रहेका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको खोप र औषधि नबनिसकेको हुँदा जो कोहीलाई लाग्न सक्ने भन्दै पिसिआर परीक्षणको नतिजा नेगेटिभ देखिँदा कोरोनामुक्त रहेछ भन्ने पुष्टि हुने तर कुनै पनि बेला संक्रमितको सम्पर्कमा पुगे संक्रमणको जोखिम रहिरहने भएकाले झन् चनाखो हुनुपर्ने बताएका छन् ।
‘पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ । त्यसखालको क्रियाकलाप सामाजिक सञ्जालमा छरपस्ट देखिने गरेको छ,’ डा. पुनले भनेका छन्, ‘पिसिआरमा कोरोना भाइरस नदेखिनु भनेको सो समयमा कोरोनामुक्त रहेछ भन्ने हो । तर, आगामी दिनमा झन् चनाखो हुनुपर्ने भन्ने सन्देश पनि हो ।’
उनले कोरोनाको महामारी रहुन्जेल अर्थात् खोप उपलब्ध नहुँदासम्म असुरक्षित नै रहिरहने भएकाले स्वास्थ्य सुरक्षा साथै सतर्कता अपनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपालमै पनि कोरोना संक्रमणपछि निको हुनेको दर उच्च रहेकाले नागरिकमा आत्मबल बढेको भन्दै उनले भनेका छन्, ‘विश्वमा स्विडेन एक यस्तो देश हो, जहाँ सरकारले नै जनस्वास्थका मापदण्डहरू अपनाउन कडा निर्देशन दिएको छैन । हालसम्म लकडाउन पनि गरेको छैन । प्राकृतिक रूपमा संक्रमित हुने र समूहगत रोग प्रतिरोधात्मक क्षमता अथवा ‘हर्ड इम्युनिटी’ वृद्धि गर्नु सो देशको मुख्य लक्ष्य रहेको पाइन्छ । यो प्रयोग कतिको प्रभावकारी भयो वा हुन्छ र हुनेछ भन्ने कुराको निक्र्योल आगामी दिनमा हुने विश्लेषणले नै देखाउने छ ।’
डा.पुनले नेपालमा एकपटक संक्रमण भएपछि अपवाद छाडेर पुनःसंक्रमित हुने र कडा लक्षणसहित भर्ना हुने गरेको नपाइएको बताएका छन् । हाल कोरोना भाइरसको संक्रमण दर उच्च रहेकाले जनस्वास्थका मापदण्डहरू पूर्ण र इमानदारीसाथ अनुशरण गर्नु बुद्धिमानी हुने भएकाले कोरोना नेगेटिभ हँुदैमा मात्तिने र पोजेटिभ हुँदैमा नआत्तिन उनले आग्रह गरेका छन् ।
बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउनका लागि साथीसङ्गीसँग खेल्न, खाना चपाएर खुवाउन वा जुठो खुवाउन साथै सानातिना फोहोर आँखामा देखे थुकले पुछिदिने नगर्न उनले सुझाएका छन् ।
विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाबाट विश्वका अन्य मुलुकका तुलनामा नेपाली बालबालिकाहरु त्यति प्रभावित नरहे पनि अन्य भाइरल÷फ्लुबाट सबैभन्दा बढी बालबालिकामा असर पर्ने देखिएकाले बालबालिकाको हेरचाह महत्वपूर्ण रहेको उनको भनाई छ ।
पुराना बानी व्यवहारलाई परिवर्तन गर्नुपर्ने भन्दै डाक्टर पुनले भने, ‘बालबालिकाको सुरक्षामा ध्यान दिउँ, बाहिर खेल्न नपठाउँ, जुठो खुवाउने, चपाएर खुवाउने बानी हटाउँ, सरसफाईमा ध्यान दिउँ ।’
उनले हामी आफैँ अटेरी हुने र आफैँ नसुध्रिने हो भने कोरोना संक्रमण भयावह हुनसक्ने भन्दै सचेत गराएका छन् ।
सुरुसुरुमा कोरोना संक्रमण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुमा देखिए पनि हाल समुदायस्तरमा फैलिसकेकाले विशेष सावधानी अपनाउनु पर्ने उनले बताएका छन् ।
कोरोना भाइरसको संक्रमणलाई हल्का रुपमा लिन र वेवास्ता गर्न नहुने भन्दै डा.पुनले यदि सबै सजग भए अझै पनि नियन्त्रण गर्न सकिने बताएका छन् । उनले यसका लागि जनस्वास्थ्यका मापदण्ड इमानदार साथ पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
जनस्वास्थ्यका अहिलेका मापदण्डहरू उत्तम रहेको भन्दै हुलमुल नजाने, अफिस वा भेटघाटमा दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने, बेलाबेलामा सेनिटाइजरको प्रयोग गर्ने नाकमुखमा हात नलैजाने, सरसफाइमा विशेष ध्यान दिने, जुठो नखाने, बिरामीलाई छुट्टै राख्ने जस्ता काम गसरए कोरोना संक्रमणबाट जोगिने यसलाई परास्त सकिने उनले बताएका छन् ।
डा.पुनले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गरेर ग-यौं भने संक्रमण कम भएर जाने तर कोरोना संक्रमण र लक्षण नदेखिए समाजमा जो कोहीसँग घुलमिल हुनेस्थिति रहँदासम्म संक्रमणको जोखिम जीवितै रहने भएकाले जनस्वास्थ्यको हिसाबले यो पक्ष चुनौतीको विषय बताए ।
बन्दाबन्दी कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणको स्थायी समाधान नभएकाले हामी सबैले हाम्रा बानी र व्यवहारमै परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।













