५ साउन ०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधर एमाले नेताहरूलाई भण्डारीको प्रवक्ता नबन्न सुझाएका छन् ।
पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले अहिलेसम्म केही नभनेकाले उनको प्रवक्ता नबन्न सुझाएका हुन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गर्दै चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाए ।
‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
उनले पार्टीको सातौं महाधिवेशनमा आफैँले उमेर हदको प्रस्ताव गरेको बताउँदै भने, ‘पार्टीलाई लोकतान्त्रिक बनाउन नै ७० बर्षे उमेरहदको प्रस्ताव गरेको हो तर अहिले परिस्थिति अर्कै छ । कुनै पनि हालतमा पार्टीमा अस्वस्थ गतिविधि हुन दिइन्न ।’













