काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् ।
माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले शुक्रबार आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे । उनले भने, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ ।”
अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भने, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं ।”
उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याए ।
अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताएका छन् ।
सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको बताउँदै उनले वन र प्राकृतिक स्रोत साधानको व्यवस्थापनमा पछिल्लो समय भएको (एनजीओकरण र आईएनजीओकरण)प्रति गम्भीर आपत्ति जनाए । उनले भने, “सरकार र समुदायबीचको सहकार्यमा आधारित वन व्यवस्थापन मोडल बिग्रँदै गएको छ । माओवादी केन्द्रले अब फेरि यसमा स्पष्ट र निष्ठापूर्ण नेतृत्व लिनु आवश्यक छ । हामीले संरक्षण मात्र होइन, समुदायद्वारा उपभोगको अवधारणा अघि सारेका सार्न आवश्यक छ ।”
कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे ।
उनले माक्र्सवादी विचारधाराको सन्दर्भ उठाउँदै लेनिनको भनाइ उद्धृत गर्दै भने, “माक्र्सवाद कुनै डग्मा होइन । प्रकृति र मानव समाजमा भइरहेका परिर्वतनलाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्छ भन्ने वैज्ञानिक मान्यता हो। अहिले जलवायु संकट पनि त्यस्तै परिवर्तन हो, जसको समाधान सैद्धान्तिक र व्यावहारिक रूपमा हामीले खोज्नुपर्छ ।”













