फाजिल, काजमा बस्ने कर्मचारीहरुको रोग बनेको छ – स्वास्थ्यमन्त्री

२७ बैशाख ०८०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी छोडेर फाजिल, काजमा बस्ने कर्मचारीहरुको रोग बनेको बताएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले बुधबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा शक्तिको दुरुपयोग गर्दै दरबन्दी छोडेर काज, फाजिल बस्ने कार्य कर्मचारीहरुको रोग भएको बताएका हुन् ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको केहीदिनमै करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको भद्रगोल अवस्था बुझिसकेको भन्दै उनले भने, ‘कर्मचारी काजमा बस्ने रोग नै बनिसकेको छ । यो रोगलाई कस्तो औषधि चाहिन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । तर, मिडियाको साथ चाहिन्छ ।’

यस्तै सूर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताउँदै उनले सुर्तिजन्य पदार्थ खान नसके रोगबाट जोगिने बताए ।

विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुर्याउन सुझाव दिएको छ । तर, नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३५ प्रतिशतको आसपासमा रहेको छ ।