फुली लगाउने, मालिकको अगाडि खुट्टा कमाउने ट्रेड युनियनको नेता हुन सक्दैन् – अन्टुफ अध्यक्ष सिम्खडा

२१ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यवाहक अध्यक्ष एवम् सांसद जगत सिम्खडाले ट्रेड युनियन आन्दोलनलाई सुखद बनाएर लैजान चुनौतिपूर्ण रहेको बताएका छन् ।

शनिबार अखिल नेपाल स्वास्थ्य श्रमिक संघको बैठकलाई सम्बोधन गर्दै कावा अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।

ट्रेड युनियन र यसका नेताहरू बिग्रिएकाले श्रमिकहरू मालिकसँग भन्दा नेतासँग डराउनु पर्ने स्थिति आएको भन्दै अध्यक्ष सिम्खडाले भने, ‘नेतृत्वको पछाडि श्रमिकको भविष्य जोडिएको छ तर ट्रेड युनियनका नेताहरू नै मालिकसँग जाेडिएकाले मिलेर जागिर खाइदिन्छ कि भन्ने डरले श्रमिकहरू आन्दोलित हुन सकिरहेका छैनन् ।’

‘नत्र, किन औधोगिक प्रतिष्ठानहरूमा मजदुरको जागिर जाँदा पनि आन्दोलन उठ्न सकिरहेको छैन् ?’ उनले थप प्रश्न तेस्र्याउँदै भने, ‘श्रमिकसँग आँखामा आँखा जुधाएर हेर्न नसक्ने, फुली लगाउने सांगठनिक जिम्मेवारी पूरा नगर्ने, मालिकको अगाडि खुट्टा कमाउने, नैतिकता गुमाएकाहरू ट्रेड युनियनको नेतृत्व हुन सक्दैन् ।’ साथै, उनले ‘संगठन र नेतृत्व’ मालिक र दलालका अगाडि नझुक्ने; श्रमिकका लागि आफ्नैै शीरछेदन गर्न तयार हुनुपर्ने बताए ।

भैंसीलाई अगाडि घाँस देखाएर टाउकोमा घनले हानेर शिकार बनाएझैं सरकार र रोजगारदाताले सामाजिक सुरक्षा योजना देखाएर श्रम ऐनको दफा १४५, १०९ लगायत श्रमविरोधी दफा प्रयोग गरेर मजदुरको भोको पेटमा प्रहार गरेको भन्दै सांसद सिम्खडाले मजदुरविरोधी दफाको संशोधनका लागि श्रमिकहरूलाई सशक्त संघर्षमा उत्रन निर्देशन समेत दिए ।

यसैगरी बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापाले बिरामीको स्वास्थ्योपचारमा अहाेरात्र जुट्ने अस्पतालको विभिन्न सेवा, क्षेत्रमा कार्यरत श्रमिकहरू आम श्रमजीवी वर्गकाे हक, अधिकारका लागि सांगठनिक उपचारमा पनि लाग्नुपर्ने बताए ।

महासंघ कार्यालयमा सदस्यता अभीलेखीकरण गर्ने कार्य भइरहेको भन्दै उपाध्यक्ष थापाले अन्टुफ–जिफन्ट एकतापूर्व संगठनलाई चुस्त बनाउन र प्रादेशिक, जिल्ला र स्थानीय तहसम्म रहेका स्वास्थ्य श्रमिकको संगठन र सदस्यहरूको अद्यावधि गर्न सुझाएका थिए ।

यसैगरी बैठकमा महासंघका कोषाध्यक्ष घनश्याम ठकुरी, प्रदेश नं. ३ का अध्यक्ष पिताम्बर गिरीले एकताको तयारी, न्यूनतम् बेतन, श्रम ऐन र सामाजिक सुरक्षा योजनाका सकारात्मक नकारात्मक पक्षबारे धारणा राखेका थिए ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघको अध्यक्ष निशा खरेलको अध्यक्षतामा बसेको उक्त बैठकको सञ्चालन उपाध्यक्ष टंक राम पौडेलले गरेका थिए ।

बैठकले स्वास्थ्य श्रमिक संघको जिम्मेवारी फेरबदलसहित निशा खरेलको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।