बंगलादेशको गोपालगञ्जमा गोली चल्दा ४ जनाको ज्यान गयो

१ साउन ०८२, काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा भएको प्रदर्शन हिंसात्मक भएको छ ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

उक्त प्रदर्शनमा मारिएका मध्ये तीन जनाको पहिचान खुलेको र उनीहरू दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् ।

बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा भएको ¥यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए । प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरेको थियो ।

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कफ्र्यु जारी गर्ने आदेश दिएको छ ।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २८ फेब्रुअरी २०२५ मा गठन भएको हो । यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि यस पार्टीलाई रहेको छ ।