१० असार ०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा बजेटमा दोहोरोपना नभएको बताएका छन् ।
सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
राष्ट्रिय योजना आयोगको काम मन्त्रालयहरूबाटै भइरहेको भन्दै आयोगको औचित्यको सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नलाई प्रधानमन्त्री ओलीले यो विषय प्रश्नै उठाउन नहुने खालको भएको तर्क गरे ।
‘संघीयतालाई दीगो र सवलीकरण बनाउन तीनै तहका सरकारले तर्जुमा गर्ने योजना तथा विकास निर्माणमा एक रूपता दिन र विकासको राष्ट्रिय मानक तयार पार्न यस आयोगको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने ।
योजना बैंक अनुसार छनोट भए÷नभएको र ३ करोड रुपैयाँको बजेट सीमा पालना नभएको भन्ने प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यससम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ ले आयोगमा राष्ट्रिय स्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ ।’













