बाबुराम भट्टराईले ललिता निवासमा सम्बन्धमा सीआइबीलाई दिए जानकारी

४ भदौ ०८०, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवासमा सम्बन्धमा तत्कालीन मन्त्रीपरिषदको निर्णयका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जानकारी दिएका छन् ।

भट्टराईले सोमबार बिहान ट्वीट गरेर ललिता निवास सम्बन्धमा आफ्नो पालामा भएको मन्त्रीपरिषदको निर्णय बारे उठेका प्रश्नहरूको जानकारी दिएको बताएका हुन् ।

“ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,” उनले ट्वीटरमा लेखेका छन्, “यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।”