काठमाडौं । मन्त्रिपरिषद बैठकले अस्पतालमा कार्यरत चिकित्सकको लापरवाहीका कारण बिरामी उपचारमा क्षति भए चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको उपचारका क्रममा घटना भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति दिनुपर्ने नयाँ व्यवस्था हुन लागेको हो ।
‘हस्पिटलहरुमा धेरै व्यक्तिहरु चिकित्सकको लापरवाहीको कारणले मृत्यु हुने र गम्भीर घाइते हुने परिस्थिति जन्मिन थालेको हुनाले ती पीडितहरुको क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ बैठकपछिसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने ।
अस्पतालहरुमा भर्ना भएका विरामीहरुको मृत्यु भएपछि क्षतिपूर्ति पाइने प्राप्ति गर्न आन्दोलन गर्ने र क्षतिपूर्ति लिने परम्परा विकसित भइरहेका बेला सरकारले डाक्टरबाटै क्षतिपूर्ति भराउने गरी कानून ल्याउने निर्णय गरेपछि चिकित्सकहरु पेशाप्रति असुरक्षित रहेको महशुस गर्न थालेका छन् ।
मृगौला रोग विशेषज्ञ डा. राकेश बर्माले चिकित्सा क्षेत्रलाई नै असुरक्षित महसुस गराउने सरकारी निर्णय सही नभएको बताए ।
उनले निजी वा सरकारी स्वास्थ्य संस्था र विज्ञ चिकित्सकहरुको सुरक्षा गर्ने जिम्मा सरकारको हुने भन्दै डाक्टरहरु खराब भए उनीहरुमाथि कारवाही हुनुपर्ने बताए ।













