बीस प्रतिशत बेड नछुट्याउने प्राइभेट अस्पतालको पिसिआर टेस्ट अनुमति खारेज गरिने

४ भदौ ०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का लागि २० प्रतिशत बेड नछुट्याउने प्राइभेट अस्पतालहरुको पिसिआर टेस्ट अनुमति खारेज गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार इन्सिडेन्ट कमाण्ड सिस्टमले निर्णय गरेको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘इन्सिडेन्ट कमाण्ड सिस्टमले जुन अस्पतालमा, जुन मेडिकल कलेजमा, प्रतिष्ठानमा एक तिहाई बेड छुट्याइँदैन, जुन प्राइभेट अस्पतालमा २० प्रतिशत बेड कोभिडको लागि छुट्याइँदैन, त्यस्तो अस्पतालमा नेपाल सरकारले पिसिआर टेस्ट गर्नलाई दिइएको अनुमति खारेज गर्ने निर्णय गरेको छ ।’

प्राइभेट अस्पताललाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई एक तिहाई बेड कोरोनाका लागि छुट्याउने भनेर सूचना गसिकेको भन्दै उनले भने, ‘सार्वजनिक अस्पतालहरु भरिभराउ हुने सम्भावना छ, त्यसकारण पूर्वसूचनाका साथ भनिरहेका छौं कोभिडका बिरामीलाई प्राइभेट अस्पतालहरुले नै उपचार गर्नुपर्ने हुन्छ । त्यसका लागि २० प्रतिशत बेड छुट्याउनुस्, म्यानपावर छुट्याउनुस्, सामानहरु उपलब्ध गराउनुस्, यो तपाईंको जिम्मेवारी हो ।’

उनले आउने एकदुई वर्ष कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड–१९ बाहेक उपचार गर्छु भन्ने सम्भव नरहेको पनि बताए ।

‘चाहे प्राइभेट होस् चाहे सरकारी ? कुनै अस्पतालमा बिरामीको डाइगोनोसिस भइसकेपछि हर अस्पतालको समन्वयमा बिरामी ट्रान्सफर गर्न सकिन्छ तर बेड नभए के गर्नुहुन्छ ? प्रवक्ता गौतमले प्रेस ब्रिफिङमा भनेका छन्, ‘बिरामीलाई मर्न दिनुहुन्छ ? कहाँ लग्नुहुन्छ त्यो बिरामीलाई ? घर पठाउनुहुन्छ ? पठाउनसक्नु हुन्न । त्यसकारण तपाईले÷प्राइभेट अस्पतालले कोरोना पोजिटिभ बिरामीको पनि उपचार गर्नुपर्ने हुन्छ ।’

यस्तै मेडिकल कलेजहरुलाई सरकारी अस्पतालको बेडले अपुग भएको अवस्थामा आफ्नो दायित्व पूरा गर्न आग्रह गर्दै प्रतिष्ठान तथ मेडिकल कलेजहरुले एक तिहाई शैय्या छुट्याएर छुट्टै बिल्डिङमा वा कहाँ सम्भव छ त्यस ठाउँमा उपचार गर्नु पर्ने कुरा उनले दोह¥याएका छन् ।

उनले जुन मेडिकल कलेज र प्रतिष्ठानले एक तिहाई बेड कोरोना उपचारका लागि छुट्याउँछन् त्यस्ता अस्पतालहरुलाई ल्याब सञ्चालन गर्न दिने निर्णय पनि इन्सिडेन्ट कमाण्ड सिस्टमले गरेको बताए ।