२० चैत्र ०८१, काटमाडौं । गत चैत्र १५ तीनकुनमा भएको राजावादी हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड सम्मानित भएका छन् ।
बुधबार आयोजित समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान गरिएको हो ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् । उनले भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन लुटेराहरूलाई लाठी प्रहार गर्दै एक्लैले प्रतिकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यस्तै, सम्मानित हुने अन्य कर्मचारीमाहरुमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो ।
त्त्यसैगरी १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् ।













