१६ जेठ ०८०, काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको भारतीय नक्सामा नेपाली भूमि समावेश गरेकाले नेपाल सरकारले तत्काल नक्सा सच्याउन पहल लिनुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राखिएको सुनेको भन्दै सरकारले तत्काल नक्सा सच्याउन पहल लिनुपर्ने बताएका हुन् ।
उक्त भारतीय नकसामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै ओलीले भने, ‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन ।’
‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ’ एमाले अध्यक्ष ओलीले भनेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा मंगलबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन् ।
माओवादीका एक सांसदका अनुसार दलको बैठकमा भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले प्रश्न उठाएको बताए ।
भारत भ्रमण जानुअघि बसेको संसदीय दलको बैठकमा आफ्नो भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आफूले पनि न्युज सुनेकाले आधिकारिकता के हो भन्नेबारे थप बुझौंला भन्ने कुरा राखेको ती सांसदले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ १७ गते बुधबार चारदिने भारत भ्रमण जाँदैछन् ।













