१३ कार्तिक ०७९, भोजपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । एमाले उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन् । यस आधारमा हेर्दा भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् ।
अर्कातर्फ केही महिना पहिले भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ ।
यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ । जसका कारण एमालेका शेरधनलाई निर्वाचित हुन जति चुनौतिपूर्ण छ त्यति नै माओवादीका सुदनलाई निर्वाचित हुन सहज देखिन्छ ।
एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । लामो समय प्रदेश १ को मुख्यमन्त्री हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै उनको आलोचना समेत हुने गरेको छ ।
चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ । २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई । २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभा निर्वाचित भएका थिए ।













