२१ कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकको मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गर्न सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
सुचना जारी गर्दै आयोगले राजनीतिक दल, आमसञ्चार र अन्य सरोकारवालाहरूलाई यस्तो आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ ।’
कार्तिक मसान्तसम्म नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुले नागरिकतासहित आयोगको वेभ ठेगानामा गएर प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत् आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक दिन सकिन्छ ।
यस्तै विवाह, बसाइँसराइ लगायतका कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएमा बसाइँसराइ वा अन्य सम्बन्धित कागजातसहित आवेदन दिन सकिन्छ ।













