मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भइन्

१९ मंसिर ०८२, जनकपुरधाम । मधेस प्रदेशसभा सचिवालयले राप्रपा नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको जनाएको छ ।

प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसञ्चालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको प्रदेश सभा सचिवालयले जनाएको हो ।

प्रदेश सभा सदस्य विच्छालाई राप्रपाले प्रदेश सभा सदस्यबाट निष्कासन गरेको सूचना सहित आवश्यक कारबाहीका लागि अनुरोध गर्दै राप्रपाले उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार गरेको थियो ।

संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा आफ्नै पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् ।