मन्त्रिपरिषद् बिस्तार : खनाल, घिसिङ र अर्याल बने क्रमशः अर्थ, उर्जा र कानून मन्त्री

३० भदौ ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त मन्त्री तीन जनालाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

सोमबार नियुक्त मन्त्रीहरू रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई राष्ट्रपति पौडेलले मन्त्री पदको सपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्री खनाललाई अर्थ मन्त्रालय र मन्त्री घिसिङलाई उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यस्तै अर्याललाई गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त अर्थमन्त्री  रामेश्वर प्रसाद खनालले पदभार ग्रहण गर्दै निजी क्षेत्रको मनोबल कम हुन नदिने बताए ।

अर्थमन्त्री, रामेश्वर प्रसाद खनाल

उनले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन आग्रह गर्दै चालकबाहेक अरू सुविधा नलिने बताएका छन् ।

यस्तै पदभार ग्रहण गरेसँगै उर्जा मन्त्री घिसिङले आवश्यक सुरक्षाकर्मीबाहेक कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । साथै, उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने बताएका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाई; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, कुलमान घिसिङ

यस्तै नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेको बताए ।

उनले सिंहदरबारभित्रको आगजनी पछि ध्वस्त भएका संरचनाको सुरुमा तथ्याङ्क संकलन गरिने र राज्यको क्षमताका आधारमा प्राथमिकतामा राखेर, राज्यको बजेट हेरेर तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्ने काम तय गरिने बताए ।

पुनर्निर्माण गृह मन्त्रालयको विषय मात्रै नभएको बताउँदै भने, ‘अरू मन्त्रालय र एजेन्सीहरूसँग छलफल गर्नुपर्ने हुन्छ ।’

गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्री, ओम प्रकाश अर्याल

सिंहदरबार लगायतका क्षति भएका संरचनालाई बनाउन नागरिकको समेत भूमिकाको अपेक्षा गर्दै मन्त्री अर्यालले भने, ‘नागरिककै पनि भूमिका हुन्छ । नागरिकस्तरबाट पनि सहयोग जुटाएर गर्नुपर्ने हुनसक्छ । पुलिस पोस्टहरू नहुँदा हामी नै असुरक्षित भएका छौं ।’