३० असोज ०८२, काठमाडौं । जेन्जी आन्दोलनको जगमा भदौ २७ मा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाउन सकेको छैन ।
कार्कीले मन्त्रीमण्डल दुई पटकसम्म विस्तार गर्दापनि आफू प्रधानमन्त्रीसहित ८ जना मन्त्रीबाहेक नियुक्त गर्न नसक्दा आफैँले ९ वटा मन्त्रालय सम्हालिरहेकी छन् ।
प्रधानमन्त्री कार्कीलाई बिहीबार सिंहदरबार परिसरमा पत्रकारले मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयमा राखेको प्रश्नमा उनले विस्तार भइरहेको मात्रै बताइन् ।
पत्रकारको प्रश्न थियो, “प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?”
उक्त प्रश्नको जवाफमा उनले हिँड्दा हिँड्दै भनिन्, “मन्त्रिपरिषद् विस्तार ‘भको भई छ ।”
भदौ २७ मा आफू प्रधानमन्त्री बनेको ३ दिनपछि भदौ ३० मा उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ जना मन्त्री पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन् ।
यतिबेला प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् ।













