
२७ साउन ०८२, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी मन्त्रालयमा भेटवार्ता भएको छ ।
मन्त्री यादवको विशेष निमन्त्रणामा सोमबार मन्त्रालय आइपुगेका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार उक्त टोली मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।
उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको साथै बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताए ।
“विशेष गरी खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ,” मन्त्री यादवले भने, “पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन् । त्यहाँको समस्या समाधान गर्न आवश्यक छ ।”
उनले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको पनि बताए ।
भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप भेटवार्ता र सहकार्य सम्भव भएको भन्दै मन्त्री यादवले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
भेटवार्तामा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी रहेका थिए भने भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागिता रहेको थियो ।













