
चक्र प्रसाद पोखरेल/काठमाडौं । अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ ।
गत शनिबार महानन्द सापकोटाको १२९औं जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र जर्जिया च्याप्टरको संयुक्त आयोजनामा जुममार्फत विशेष कार्यक्रम सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा सर्वज्ञ वाग्ले (क्यालिफोर्निया) अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सापकोटाको साहित्यिक तथा समाजिक व्यक्तित्वमाथि चर्चा गरिएको थियो ।
कार्यक्रमा प्रमुख अतिथिको रुपमा प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेल रहेका थिए भने अतिथिमा पदम विश्वकर्मा, महेशप्रसाद आर्डी, तीर्थ अधिकारी, राहिनी शर्मा सापकोटा, लालगोपाल सुवेदी, रमेश दाहाललगायतका थुप्रै साहित्यकारहरुको उपस्थिति रहेको थियो । साथै महानन्द सापकोटाका परिवारका सदस्य महेश पर्साई, लुना सिटौला र डा सञ्जीव सापकोटाको समेत सहभागिता थियो ।
प्रत्येक वर्ष जस्तै अनेसास केन्द्र कार्यालय र यसको जर्जिया च्याप्टरले अप्रिल २६ मा शनिबार सापकोटाको विरासत, राष्ट्रप्रतिको योगदान र आजको समाजले उनका धेरै कार्यहरूबाट के कसरी लाभ उठाउन सकिन्छ भन्ने कुरा मनाउन उक्त कार्यक्रम आयोजना गरिएको अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बताए ।
नेपाली भाषा साहित्यलाई माथि उठाउनमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति हुन् महानन्द सापकोटा । उनले जीवनभर नेपाली भाषाको सेवा गरिरहे । शिक्षा र चेतनाले मात्रै राष्ट्रको विकास हुने कुरा उनले बुझेका थिए । उनका साहित्यले पनि मुलुकको मौलिक चिन्तन र राष्ट्रिय भावना बोलेका छन् । प्रकृति चित्रण, राष्ट्रप्रेम र समाज सुधार उनका मुख्य विषय हुन् ।
कुसंस्कार कुरीति, अन्धविश्वास, असमानता एवम् लैङ्गिक र जातीय विभेद बिरुद्ध उनी लागिरहे । नारी उत्थान र शोषित पीडितको पक्षमा उनी सधैँ लागिरहे । समाज सुधारका लागि पनि उनी अहोरात्र खटिइरहे । मान्छे मान्छेबिच अमानवीय भेदभाव वा छुवाछुत विरुद्ध पूर्वमा चेतना जगाउने काम महानन्दले गरे । उनी जातीय अन्यायको निडर समर्थक थिए । उनी जातीय भेदभावलाई घृणा गर्थे । उनले विद्यालय बनाए र समाजले तल्लो जात ठान्ने मानिसहरूलाई भर्ना दिए । यसले उच्च जात ठान्नेहरूलाई रिस उठायो । तर यसले उनलाई कुनै फरक पारेन । उनले तेह्रथुम, इलाम, झापा, धरान, धनकुटामा जहाँ जहाँ बसे, सबै ठाउँमा विद्यालय बनाए ।
वि.सं १९५३ वैशाख ३० गते इलामको इरौँटार गा.वि.स. देवानछापमा पिता रामचन्द्र सापकोटा र आमा सरस्वतीका तेस्रो सन्तानका रूपमा जन्मिएका महानन्द सापकोटाको न्वारनको नाम जगन्नाथ हो । कसै कसैले यज्ञनिधि पनि भन्ने गरेको पाइन्छ ।
महानन्द नेपाली आकाशको एक चम्किलो तारा हुन् । नेपाल सरकारले उनको सम्मानमा हुलाक टिकट जारी गरेको छ । अन्तर्राष्ट्रिय ब्रह्माण्ड समाजले बुध ग्रहमा रहेको एउटा खाडललाई उनको नाममा सापकोटा खाडलको नाम दिएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै जर्जिया च्याप्टरका सचीव तीर्थ तिमल्सिनाले भने, ‘तत्कालीन समयमा नेपाली भाषा कम प्रयोगमा आउँथ्यो । संस्कृत र हिन्दी भाषाको बढी प्रभाव थियो । भाषाको मौलिकताका लागि झर्रो नेपाली भाषाको प्रयोगमा उनले सर्वप्रथम जोड दिएका हुन् । उनी भाषालाई सर्वमान्य बनाउन व्याकरण खुकुलो हुनुपर्छ भन्थे । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति जिउँदो जागरुकता ल्याउने उनी पहिलो नेपाली भाषाशास्त्री हुन् ।’
महानन्दको विषयमा बोल्दै प्रमुख अतिथि प्रा.डा.खगेन्द्र प्रसाद लुइटेलले भने, ‘म यदि महानन्दको विषयमा मात्र बोलौँ भने दुई घण्टाभन्दा धेरै बोल्न सक्छु तर आज मुख्य कुरा भन्दा महानन्द एक राम्रा कवि हुन् । उनले तत्कालीन समयमा नराम्रोसँग बिग्रिएको भाषा सुधार्नमा महत्वपूर्ण काम गरे । मैले उनको विषयमा धेरै वर्षअगाडि नै केही कुराहरु पुस्तकमै लेखेको छु । पढ्नका लागि उमेर घटाएर पढेका महानन्दले प्रशस्त मात्रामा स्वाध्ययन गरेको पाइन्छ । समानता र शिक्षाको विषयमा पनि महानन्दले ठूलो काम गरेका छन् । उनी जहाँजहाँ जान्थे, त्यहाँ त्यहाँ विद्यालय खोलेर सबै समुदायका मानिसहरुलाई पढ्न पर्छ भन्ने कुरा सिकाउँथे ।’
उनले पछिल्लो समय उनले पु¥याएको योगदानको चर्चा कम हुन थालेको भन्दै महानन्दका दुर्लभ पाण्डुलिपि संरक्षण गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी महानन्दका नाति महेश प्रसाईले महानन्दमा अटुट मात्रामा राष्ट्रप्रेम रहेको, अशिष्ट शब्दको प्रयोगलाई निरुत्साहित गर्ने गरेको बताए । साथै नेपाली भाषा, संस्कृति जोगाउन पूर्वी नेपालमा बसेर दलित समुदायले पढ्नलेख्न हुँदैन भन्ने गलत प्रचलनलाई हटाई उक्त समुदायका सदस्यलाई पढाउन सुरु गरेको योगदानको चर्चा गरेका थिए ।
प्रसाईले महात्मागान्धीको विचारबाट प्रभावित सापकोटा राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिको महत्वलाई आत्मसात गर्दै ठुला देशको प्रभावबाट मुक्त रहनुपर्छ भन्ने स्वाभिमानी विचारबाट अभिप्रेरित भएको कुरा बताए ।
त्यसैगरी साहित्यकार पदम विश्वकर्मा, सापकोटा कल्याण केन्द्रका अध्यक्ष रमाकान्त सापकोटा, डा. सञ्जीव सापकोटा, महानन्दकी नातिनी लुना सिटौला, वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष मोहन सिटौला लगायतले सापकोटाको साहित्यिक योगदानलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने भन्दै सामाजिक न्याय, जातीय समानताको प्रवद्र्धनमा पु¥याएको योगदान तथा कविता र निबन्धात्मक कृतिमाथि चर्चा परिचर्चा गरेका थिए ।













