महिलालाई अपशब्द बोलेको आरोपमा रास्वपा नेता पाँडे पक्राउ

११ भदौ ०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे एक जना महिलालाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका छन् ।

साइबर ब्यूरोले अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि पाँडे साँझ पक्राउ गरिएको बताएको छ । ब्यूरोले भोलि म्याद थपका लागि उनलाई अदालतमा लगिने पनि जानकारी दिएको छ ।

साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले महिलाले उजुरी दिएपछि पाँडेलाई पक्राउ गरिएको जानकारी दिए ।

पाँडे २०७९ साल भदौमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए भने रास्वपा सरकारमा रहेको बेलामा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।