३० बैशाख ०८२, काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेता फेर्न पार्टीका मधेश प्रदेश सांसदहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।
मंगलबार अध्यक्ष प्रचण्डको निवासमा प्रचण्डसहित पार्टीका उपमहासचिव वर्षमान पुन र मातृका यादवको उपस्थितिमा बसेको बैठकमा मधेश प्रदेश सांसदहरुले मधेशमा दलको नेता फेर्न दबाब दिएका हुन् ।
९ सांसद रहेको मधेश प्रदेश माओवादी सांसदहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउनुपर्ने माग गरेका छन् ।
दलका नेता साहमाथि अर्थमन्त्री र गृहमन्त्री हुँदा आर्थिक अनियमितता गरेकोे, गत चैत अन्तिम साता मधेश प्रदेश सभा बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले गम्भीर आरोपहरू लगाएपछि साह बिबादित छन् ।
सोतकाअनुसार प्रदेश सांसद शारदा पहाडी मात्र दलका नेता साहको पक्षमा देखिएका छन भने अन्य ६ सांसद विपक्षमा रहेको र दलका उपनेता तटस्थ रहेका छन् ।
माओवादी संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।













