
२९ असोज ०८२, रोराङ/धादिङ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा तथा पार्टी नेता कार्यकर्तालाई आगामी फागुन ११ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई पार्टीको प्रमुख एजेन्डा बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
‘अबको माओवादीको लाइन भनेको आगामी फागुन ११ गते हुने प्रतिनिधि सभाको निर्वाचन हो,’ उनले भने, ‘तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्नेछ ।’
एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
कार्यक्रममा प्रचण्डले पछिल्लो युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताउँदै भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भइरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने बुझ्नु भएको छ ।’













