काठमाडौं । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर – २०१७ अवार्डमा पुरुषतर्फ बिजेता बनेका छन् ।

लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्दै रोनाल्डो वेष्ट प्लेयर बनेका हुन् ।
३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने रेनाल्डोले २९ लिग खेलमा २५ गोल गरेपछि रियलले पाँच पर्षपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो ।
‘हामी पहिलो पटक इंग्ल्याण्डमा छौं र मैले दोस्रो पटक यो अवार्ड जितें, यो मेरालागि एक उत्कृष्ठ पल हो’ अवार्ड लिँदै रोनाल्डोले भने ।
उनले उत्कृष्ट खेलाडीका लागि ४३.१६ प्रतिशत मत पाएका थिए । जवकि मेस्सीले १९.२५ र नेइमारले ६.९७ प्रतिशत मत पाएका थिए ।
बार्सिलोनाका लुइस स्वारेजले मेस्सीका लागि भोट गरेका थिए भने रोनाल्डोका लागि रियलका टिममेट लुका मोड्रिकले भोट गरेका थिए ।
मार्टिन्स वेष्ट फिमेल प्लेयर
बर्सिलोनाकी डच स्टार लियके मार्टिन्सले यस वर्षको वेष्ट फिमेल प्लेयरको अवार्ड जितेकी छन् ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा महिला प्रशिक्षकको अवार्ड नेदरल्याण्ड्सकी सरिना वेइगम्यानले पाइन् ।
आर्सनलका ओलिभर जिरोर्डले वर्षको उत्कृष्ठ गोलका लागि दिइने पुसकास अवार्ड हात पारे । जनवरी २०१७ मा क्रिष्टल प्यालेसबिरुद्ध उनको ‘स्कोरपियोन किक’ वर्षकै उत्कृष्ठ गोल ठहरियो ।
बेष्ट गोलकिपर अवार्ड विश्व च्याम्पियन इटली तथा युभेन्टसका लागि १० पटकका सिरी ए च्याम्पियन जियानलुइगी बुफोनाई प्रदान गरियो । यी इटलीका भेट्रान गोलकिपरले युभेन्टसलाई लगातार छैटौं पटक सिरी एको उपाधि दिलाएका थिए भने ६०० मिनेटसम्म च्याम्पियन्स लिगमा गोल खाएका थिएनन् ।
सेल्टिकलाई फ्यान अवार्डबाट मनोनित गरियो ।













