२७ साउन ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका युवाहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास व्यक्त गरेका छन् ।
गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ति तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमी महत्वपूर्ण हुने भन्दै उनले युवालाई भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ता भएको बताए ।
“नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ,” अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, “यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ ।”
माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उल्लेख गर्दै शुभकामनामा भनिएको छ, “आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ । युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याऔँ र परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ ।”














