राइड सेयरियङ नियमावली स्थगन गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

२० जेठ ०८२, कास्की । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली स्थगन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकार र सार्वजनिक यातायात व्यवसायीबीच सोमबार राति भएको सहमति कार्यान्वयन गर्न गराउन पत्र पठाएपछि गण्डकी प्रदेश सरकारले एक महिनाका लागि नियमावली स्थगन गरेको हो ।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा आज साँझ मुख्यमन्त्रीसहित सरोकार मन्त्रीहरू सहभागी बैठकले गरेको निर्णयमा भनिएको छ, ‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लेखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ ।’