१९ चैत्र ०८१, काठमाडौं । सरकारले आम नागरिकलाई राजावादी समूहले गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरिएको बताएका हुन् ।
‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै मन्त्री गुरुङले भने, ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषिउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको समेत मन्त्री गुरुङले बताए ।













