राज्यको जिम्मेवार निकायमा बसेकालाई आदेश आएमा गाडी सुविधा !

२८ बैशाख ०८०, काठमाडौ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राज्यको जिम्मेवार निकायमा बसेकालाई आदेश आएमा गाडी उपलब्ध गराउने गरेको बताएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन आयोगको गाडी प्रयोग गर्दै आएको बारेमा एक अनलाइनले जिज्ञासा राख्नेक्रममा उनले यस्तो बताएका हुन् ।

एमाले उपाध्यक्ष पोखरेलले २०७५ सालदेखि निर्वाचन आयोगले उपलब्ध गराएको सरकारी टाटा स्ट्रोम जिपमा निजी नम्बर प्लेट बा १२ च ५२११ प्रयोग गरिरहेका छन् ।

यसबारे प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारीमा रहेका पोखरेललाई प्रधानमन्त्री कार्यालयबाट गाडी दिन पत्र आएपछि गाडी उपलब्ध गराइएको हो ।

‘तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव देवकुमारी गुरागाईं हुँदा पत्र लेखेर गाडी दिनु भनेर आयो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘उहाँलाई दिएका हौं ।’

उनले उक्त गाडीमा निजी नम्बर प्लेट राखेको वा सरकारले राखेको भन्ने विषयमा जानकारी नभएको बताए । भने, गृह मन्त्रालयका सवारी व्यवस्थापन शाखाका कर्मचारी सुरेश सुनारले सरकारी गाडीलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न नमिल्ने बताए ।

तत्कालीन ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलमाथि कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबिसिआई) लाई एकल सुविधा दिएर अनियमितता गरेको आरोप लागेको थियो ।

यस्तै नेपाल ट्रस्ट ऐन–२०६४’ लाई एक वर्षअघि नै संशोधन गराउँदै सोही संशोधनका आधारमा गोकर्ण फरेष्टलाई लिजको समयसीमा थप्ने खेलमा लागेर घोटाला गरेको आरोप पनि लागेको थियो ।