२७ कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
आयोगले माघमा हुने राष्ट्रिय सभा निर्वाचन र फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे दलहरूसँग छलफल गरेको हो ।
सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागिता रहेको थियो ।
सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गर्ने निर्णय गरी राष्ट्रपतिबाट समेत सदर गरिसकेको छ ।
निर्वाचन आयोगकाअनुसार दलहरुले आयोगलाई गत भदौ २४ गते जेन्जी आन्दोलनमा लुटिएका हतियारको खोजी हुनुपर्ने र निर्वाचन शान्तिपूर्ण हुने सुनिश्चितता गरिनुपर्ने सुझाव दिएको थियो ।
आयोगले सुरक्षा चिन्ताको सम्बोधन आयोग र दलहरू मिलेरै गर्नुपर्ने भन्दै हालसम्म आयोगमा १२६ वटा दल दर्ता भएको जानकारी दिएको थियो ।
गत भदौ २७ गतेका दिन निर्वाचन घोषणा हुनुअघि १२२ दल दर्ता रहेको र यसबीच ५ दल थपिएका छन् । यस्तै एउटा दल खारेज भएको र २१ वटा दर्ता प्रक्रियामा रहेको आयोगले बताएको छ ।
यस्तै आयोगले राष्ट्रिय सभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा पनि दलहरूसँग परामर्श गरेको छ ।













