२ कार्तिक ०७६, काठमाडौं । साहित्यकार एवम् जनवादी गायक रामेश र रायनले रेडियो नेपालमा भ्रष्टाचार र अनियमितता भएको खुलासा गरेका छन् ।
शुक्रबार पारिजात स्मृति प्रतिष्ठानले म्हैपी नयाँबजारमा आयोजना गरेको “परिसंवाद” कार्यक्रममा जनवादी गायक रामेश र रायनले विगतलाई सम्झँदै यस्तो बताएका हुन् ।
‘रेडियो नेपालका भ्रष्ट कर्मचारी (अहिले वरिष्ठ भन्छन्)ले शोषण गर्दथे’ रेडियो नेपालमा चारवर्ष काम गरेको अनुभव साट्दै जनवादी गायक रायनले भने, ‘रेडियो नेपालमा धेरै विकृत्ति विसङ्गतिहरू थियो । महिलाहरूमाथि, कलाकारहरूमाथि, बहिरबाट आउने गाउँले कलाकारहरूमाथि, बोल्न नसक्ने, पहुुँच नहुनेमाथि भएको शोषणले मनमा आक्रोश उठेर आउँथ्यो ।’
‘रेडियो नेपालमा एउटा गीत गाएवापत १० रुपैयाँ पाउँथ्यौं । महिनामा २–३ वटा गीत गाउन पाउँथ्यौं । त्यो पारिश्रमिकले हामीले काठमाडौंमा गुजारा गर्नुपर्दथ्यो’ रायनले भने ।
‘नेपाल सुन्दर बनाउन तपाईंहरूको ठूलो भूमिका हुन्छ ।’ उनले नयाँ पिँढीका युवाहरूलाई उत्सहित बनाउँदै भनेका छन्, ‘तपाईं विचारमा दरिलो हुनुस् । विचार त विचार हो, बिचलिन हुनु हुँदैन । विचारमा अडिग हुनुस् । नेपाल सुन्दर बनाउन तपाईंहरूको ठूलो भूमिका हुन्छ ।’
यसैगरी रामेशले आफूहरू (रामेश–रायन) पातला, दुब्ला, ख्याउटे अनि हीनताबोधले ग्रसित केटाहरूलाई मदन पुस्कार पाइसकेकी लेखिका पारिजातले बोलाएको भन्दा सुरुमा विश्वास नलागेको बताए । साथै, पारिजातले पटक-पटक बोलाएको भन्ने खबर पाएपछि विश्वास नलाग्दा नलाग्दै पहिलाेपटक पुतलीसडकस्थित पारिजातको कोठामा पुगेको अनुभव सुनाएका थिए । र, त्यसपछि नियमितरुपमा पारिजातसँग भेटघाट भएको पनि बताए ।
यस्तै साहित्यकार एवम् जनवादी गायक रामेश र रायनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाइको सरकारले जनपक्षीय काम गर्न नसकेको भनी कटाक्ष पनि गरेका थिए ।
उक्त कार्यक्रममा पारिजातकी बहिनी एवम् नेपाली कम्युनिष्ट नेता स्व. निर्मल लामाकी धर्मपत्नी सुकन्या वाइवा, पूर्वराजदुत महेश मास्के, साहित्यकार अरूणा उप्रेती, खगेन्द्र सङ्ग्राैला, प्रगतिशील लेेखक संघका अध्यक्ष मातृका पाेेखरेल, वाम विश्लेषक श्याम श्रेष्ठ, रचना एवम् संंगीतकार श्याम तमाेेर लगायतका उपस्थिति रहेेेकाेे थियोे ।
भिडियोसहित

















