लाइन जोड्न निर्देशन दिएजसरी महशुल उठाउन निर्देशन दिन प-यो – सांसद हरि ढकाल

२९ साउन ०८१, काठमाडौं । प्रतिनिभिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विद्युत महशुल तिर्न बाँकी रहेका उद्योगहरुमा बिजुलीको लाइन जोड्नलाई सरकारले जसरी निर्देशन दिएको थियो त्यसैगरी महशुल उठाउन निर्देशन दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद ढकालले विद्युत महशुल २२ अर्बको बक्यौता १६ अर्ब हुँदै ६ अर्बमा झर्दा पनि असुल नभएको भन्दै महशुल उठाउन संसदमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

‘विषय त भ्रष्टाचार नै हो सभामुख महोदय, महशुल नै हो विजुली नै हो,’ सांसद ढकालले भने, ‘प्रधानमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– जसरी विजुलीको लाइन जोड्नका लागि निर्देशन दिनुभएको थियो । महशुल उठाउनका लागि उसैगरी निर्देशन दिन प¥यो कहाँ कहाँ दिने हो ?’

‘ग्रे लाइनमा बसेपछि २२ अर्बको बक्यौता १६ अर्ब हुँदै ६ अर्बमा झर्दा पनि असुल नभएको विषय सदनमा आकस्मिक विषय बन्न सक्दैन ? आकस्मिक बन्छ । कर दाताहरुको करमाथि लामो हात गर्ने विषय सँधै आकस्मिक बन्छ ।’ उनले भने, मिटर जडान गरिएको ठाउँमा महशुल उठाउनका लागि यस्तो हालत नेपालमा रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘मिटर नभएका भन्सार हेरौं त, मिटर नभएको मालपोत कार्यालय हेरौं त । के छ हालत ?’

सांसद ढकालले भ्रष्टाचारसँग सम्बन्धित विषय सदनमा प्रवेश गराउँदा आगामी दिनमा मंगलबारको जस्तो व्यवहार नगर्न सभामुखलाई आग्रह गरे ।

रास्वपाका सांसद ढकालले विशेष समयमा विद्युत महशुलको बक्यौताको विषय उठाउँदै ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा…’ विषय राख्दै गर्दा वाक्य पूरा नहुँदै सभामुख घिमिरेले माइक काटिदिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको थियो ।

प्रतिपक्षीको अडानसँगै पुनः प्राप्ति भएको समयमा सांसद ढकालले विद्युत महशुलका विषय संसदमा उठाएका हुन् ।

यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन आग्रह गरेका थिए ।

त्यसपछि सभामुखले राप्रपा अध्यक्ष, सांसद राजेन्द्र लिङ्देनलाई २ मिनेट बोल्ने समय दिएका थिए । लिङ्देनले पनि सांसदहरु सार्वभौम हुने भएकाले जुनसुकै विषय संसदमा उठाउन सक्ने बताए ।