१ भदौ ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूलाई न्यूनतम ६ महिनाको कोभिड-१९ केन्द्रित शैक्षिक क्यालेन्डर एक हप्ताभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
आइतबार उपकुलपतिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
मन्त्रालयले शिक्षा नीतिलाई कोभिड–१९ केन्द्रित भई परिमार्जन गर्ने तयारीमा रहेको साथै राष्ट्रिय योग्यता प्रारुपबारे मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति आइसकेको भन्दै पोखरेलले सबै विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययन गरिरहेका छौं भन्ने महशुस गराउन सक्नुपर्ने बताए ।
विश्वविद्यालयका उपकुलपतिहरूले बैठकमा जतिपनि परीक्षा सम्पन्न भइसकेका छन् सोको परीक्षाको नतिजा प्रकाशन भइरहेको तर प्रयोगात्मक परीक्षा सञ्चालन गर्न भने समस्या रहेको बताएका थिए ।













